सत्ता सहयात्री दलमा प्रतिस्पर्धा र सहकार्य जरुरी छः नेता कोइराला
चितवन I नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता सहयात्रीदलहरु बिच प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रतिस्पर्धा र सहकार्य एक अर्काको परिपूरक हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “मलाई लाग्दैन सरकार परिवर्तन हुन्छ भनेर । यो सरकारलाई असफल हुने छुट छैन ।” ठूला दुई दल मिलेर वनेको सरकार भएकाले असफल हुने छुट नरहेको उहाँले बताउनुभयो । नेपाली काँग्रेस र एमाले सरकारमा रहेको भन्दै उहाँले दुवै दल प्रतिस्पर्धा र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली काँग्रेस र एमाले सरकारमा छौ हामीहरू प्रतिस्पर्धा र सहकार्य पनि गर्दै छौँ । जो सरकारमा हुनुहुन्छ उहाँहरूले सहकार्य गर्नुपर्छ । हामी बाहिर छौ हामीले प्रतिस्पर्धा गर्नुपर्छ ।
सरकार निर्माणका क्रममा भएको सहमति अनुसार संविधान संशोधनका लागि सत्ताधारी दल मात्रै नभएर सबै संसद्को सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो सरकार बन्दा संविधानमा केही सुधार गर्ने भन्ने कुरा आएको थियो तर यो सुरु गरेर अन्त्य गर्नलाई धेरै समय लाग्ने छ । नेपाली काँग्रेस र एमालेले मात्रै संविधान सुधार गरेर हुँदैन ।”संविधान साझा सम्पत्ति भएकाले सबैको उत्तिकै सहभागिता आवश्यक पर्ने उहाँको भनाई छ । सुशासन दिन र भ्रष्टाचार न्यूनीकरण गर्न सकेमा अन्य कुराहरू आफै राम्रो हुने उहाँले बताउनुभयो ।
नेता कोइरालाले चीन र नेपाल बिचको सम्झौता ऋण नभई अनुदान हुने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले देशको अर्थतन्त्र समस्यामा छ । जसका कारण बिआरआई सम्झौता ग्राण्ड गरौँ जब नेपाल सक्षम हुँदै जान्छ अनि ऋण गरौला ।”
फरक प्रसङ्गमा बोल्दै नेता कोइरालाले नेपाली काँग्रेसको १५ औँ महाधिबेशनमा आँफु पार्टीको सभापतिको उम्मेदवार रहेको बताउनुभयो । आफ्नो समूहमा रहेका नेताहरूसँग छलफल गरेर नमिलेका कुराहरू मिलाउँदै लैजाने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्