विद्युत् आयोजनाका कामलाई तीव्रता दिन कार्यकारी निर्देशक घिसिङको निर्देशन
बाँके । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकेमा सञ्चालनमा रहेका र निर्माणाधीन विभिन्न विद्युत् आयोजनाको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको छ।

नेपालगन्जमा आयोजित एक कार्यक्रमका लागि आएका घिसिङले विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले सञ्चालनमा ल्याएको ट्रान्सफर्मर वर्कसपसहित अन्य आयोजनाको अवलोकन गर्नुभएको हो।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीवकुमार सिंहका अनुसार कार्यकारी निर्देशक घिसिङले बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम, र प्युठानका बिग्रिएका ट्रान्सफर्मर मर्मत सम्भारका लागि कोहलपुरमा निर्माण गरिएको ट्रान्सफर्मर वर्कसपको विस्तृत निरीक्षण गर्नुभएको छ। उहाँले ट्रान्सफर्मर मर्मत सम्भारले ६ जिल्लाका मात्र नभई कर्णाली प्रदेशका ट्रान्सफर्मर समेत कोहलपुरमै मर्मत भइरहेको जनाउनुभयो।
घिसिङले कोहलपुर ग्रिड, बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजनामा पर्ने १३२/३३ केभी सबस्टेशन निर्माण स्थलको पनि स्थलगत निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा उहाँले आयोजनाका कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले प्राधिकरणका कर्मचारीहरूलाई गुणस्तरीय सेवा सुनिश्चित गर्न तथा निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्