‘विवाह पञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाह पञ्चमी महामहोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताउनुभएको छ ।
त्रेतायुगको झझल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले आजै भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित दिवा भोज गराएर सम्मान गर्नुभयो । अयोध्याबाट राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा झण्डै पाँच सयको सङ्ख्यामा आएको जन्तीलाई मिथिलाको परम्पराअनुसार दिवा भोजनका साथै सम्मान गर्नुभएको हो ।
मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रम भएको हो । राम जन्मभूमि ट्रष्टका महासचिव रायले विवाह पञ्चमी महोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताउनुभयो ।
अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठीले विवाह पञ्चमी महोत्सवले नेपाल भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउनुभयो । जन्तीलाई मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिलअलि मियाले कम्बल वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्