तपाईँ सुन्दै हुनुहुन्छः

श्री सीताराम विवाहपञ्चमी महामहोत्सव अन्तर्गत मटकोर विधि सम्पन्न 

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव अन्तर्गत आज जनकपुरधामको गंगासागरमा मटकोर विधि सम्पन्न भएको छ । 

जनकपुरधामको जानकी मन्दिरबाट रथमा माता जानकीजीको मानव स्वरूप राखेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको व्याण्ड तथा सुरक्षा सहित मिथिलानीहरु जनकपुरधामको गंगासागरमा ल्याएर मटकोर विधि सम्पन्न गरेका छन् । 

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अगुवाइमा भएको मटकोर विधिमा मिथिलाका महिलाहरूले मटकोर सम्बन्धि विभिन्न परम्परागत गीतहरू आउनुका साथै नृत्य पनि गरेका छन् । मटकोरमा मिथिलानी महिलाहरूले हातमा कलसा लिएर गंगासागरबाट जल भर्ने गरेका छन् । उक्त जन विवाह उत्सवमा प्रयोग गरिने चलन रहेको छ । 

हिजो धनुषयज्ञ सम्पन्न भएपछि अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामसँग मिथिलाका तत्कालीन राजा जनकका पुत्री माता सितासँग शुभ विवाह सुनिश्चित भएपछि विवाहका लागि तयार पारिने मण्डपमा प्रयोग हुने माटो जनकपुरधामको ऐतिहासिक महत्वको गंगासागरबाट माता सीताले आफै खन्नु भएको स्मरणमा प्रत्येक वर्ष मटकोर विधि गर्ने चलन रहेको छ । 

आज मटकोर सम्पन्न भएपछि भोली दिउँसो जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा स्वयंम्बर तथा राति शुभ विवाह जानकी मन्दिर परिसरमा तयार पारिइएको विशेष प्रकारको मण्डपमा हुने भएको छ । 

मङ्सिर महिनाको शुक्लपक्षमा माता सीता तथा भगवान् श्रीरामको शुभ विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा श्रीसीतामा विवाहपञ्चमी महामहोत्सव मनाउने चलन रहेको छ । विवाह पञ्चमीको विधि मङ्सिर १६ गते नगर दर्शनबाट शुरु भएर एक सातासम्म विभिन्न कार्यक्रमको आयोजना गरेर सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव २२ गते रामकलेवासंगै सम्पन्न हुने कार्यक्रम रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button