तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा विशेष कार्यक्रम : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । 

प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रीय पोषण विषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै विशेष कार्यक्रम लागु गरिएको बताउनु भएको हो ।‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागु गरेका छौँ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘मातृ शिशु मृत्युदरलाई घटाउँछौँ । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउँछौँ । सरकारले यी क्षेत्रमा उपलब्धी हाँसिल गर्नेगरी कार्यक्रम अघि सारेको छ ।’

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागु गरेको छ । मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्त अल्पता जस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष कार्यक्रम लागु गरेको हो । यी कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

तथ्याङ्कगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी विशेष कार्यक्रम लागु गरिएको सरकारले जनाएको छ ।‘तथ्याङ्क हेर्दा हाम्रा सूचकहरू कमजोर छन् । यी कमजोर सूचकहरूलाई माथि उठाउने गरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अबको तीन वर्षमा यी सूचकहरूमा सुधार आउनुपर्छ ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘परम्परागत मूल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तीकरणको अभियान चलाउन जरुरी छ ।’

विभिन्न बहानामा अझैँ पनि बालविवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या देखा परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै पक्ष गम्भीर हुनुपर्ने बेला आएको बताउनु भयो ।‘बालविवाह नगर्ने, गरेको खण्डमा कानुनी कारबाही हुने सम्मको व्यवस्था छ । तर, अझैँ यो समस्या समाधान हुन सकेको छैन’उहाँले भन्नुभयो,‘बनेका कानुनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’

स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने भनाई उहाँको छ ।

दातृ निकायसँग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसका लागी लगानी केन्द्रित गर्न आह्वान समेत गर्नु भयो । प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालय मार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ । 

आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागु भएको थियो । परियोजनाले हाँसिल गरेको अनुभव तथा सिकाई आदानप्रदान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गीता नेपालीले ११ बुँदे ज्ञापनपत्र समेत बुझाउनु भएको थियो । प्रदेश स्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुनर्स्थापना कार्यक्रम लागु गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button