विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

बाँके । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय विद्यार्थीहरूका लागि प्राविधिक ज्ञानको अवसर प्रदान गर्ने थलो भएकाले यसलाई चलायमान बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
प्राविधिक विश्वविद्यालयले नेपालगन्जस्थित आफ्नै भवनमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्राविधिक विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो,‘अब विश्वविद्यालय थपेर मात्रै काम छैन,गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारी सुनिश्चित गर्ने खालको शिक्षा अहिलेको आवश्यक हो ।
बाँके र बर्दियाका स्थानीय तहका जनप्रतिनिधिहरू समेत सम्मिलित अन्तरक्रियामा बोल्ने सहभागीहरूले दक्ष जनशक्ति पाउनै मुस्किल परिरहेको उल्लेख गर्दै मागमा आधारित जनशक्ति उत्पादन गर्नतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
विश्वविद्यालयका रजिस्ट्रार रेगबहादुर भण्डारीले विश्वविद्यालयको शैक्षिक र अनुसन्धान कार्यहरूमा केन्द्रित एक्सिलेन्सी र डिजिटल शिक्षालाई प्राथमिकता दिइरहेको जानकारी दिनु भयो । उहाँले हालसम्म स्नातक तहको प्राविधिक फ्याकल्टीहरूमा १५० विद्यार्थी भर्ना भइसकेको र निकट भविष्यमा स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स र अनुसन्धानका विषय समावेश गरिने तयारी गरिएको बताउनु भयो ।
निवर्तमान राष्ट्रिय योजना आयोग लुम्बिनी प्रदेशका अध्यक्ष नकुल केसीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै विश्वविद्यालयले डिजिटल शिक्षालाई आर्थिक आयआर्जनसँग जोडेर युवाहरूलाई सक्षम बनाउनु आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
ज्ञान व्यवस्थापन विशेषज्ञ कृष्णप्रसाद पौडेलले विश्वविद्यालयले शिक्षा, सीप र आर्थिक गतिविधिलाई जोडेर स्थानीय निकायसँग समन्वय गरी गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्