लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गर्नुहुने
भैरहवा । रुपन्देही जिल्लाको भैरहवामा मङ्सिर २० गते बिहीबार (भोली) देखि ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ सुरु हुने भएको छ ।
महोत्सवको बिहीबार दिउँसो १ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले बताउनुभयो ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित मेलास्थलमा सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले महोत्सवको उद्घाटन सत्रको तयारीमा रहेको बताउनुभयो । उहाँले महोत्सव उद्घाटन अघि बिहान साढे १० बजे भैरहवास्थित देवकोटा चोकबाट झाँकीसहित र्याली निकालिने जानकारी दिनुभयो ।
‘नेपालका अधिकांश जिल्लाका उत्पादन महोत्सवमा रहनेछ, मुस्ताङको अर्ग्यानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन राखिनेछ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यसपटक कृषिलाई बढी महत्व दिएका छौँ ।’ महोत्सवमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र स्टलसँगै बाल उद्यानमा खेल्ने दर्शकको बीमाको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
२०६१ सालमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घले भैरहवामा महोत्सव सुरु गरेको उहाँले बताउनुभयो । उहाँले महोत्सव सञ्चालन गर्न गठित ३३ सदस्यीय समितिले जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवको स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले महोत्सवमा ३ सय वटा स्टल निर्माण गरिएको बताउनुभयो । उहाँले सबै स्टल बुक भइसकेको जानकारी दिनुभयो । ‘तिलोत्तमा र हेटौँडामा सञ्चालित महोत्सवको अवधि दुई दिन थपिएको कारण बिहीबार (भोली) केही स्टल खाली देखिन सक्छन् । तर, शुक्रबार साँझदेखि स्टलहरू भरिन्छन्, ’आचार्यले भन्नुभयो ।
महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा सङ्घको रहेको महासचिव कृष्ण प्रसाद घिमिरेले बताउनुभयो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने संघका सचिव तथा प्रचार प्रसार समिति संयोजक मङ्गल भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्