टिकटकले जस्तै अरू सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ : सचिव अर्याल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटफर्म मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताउनुभयो । उहाँले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।
काठमाडौँमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदै आएको बताउनुभयो । उहाँले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरू सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गर्नुभयो ।
“डिजिटल सुरक्षाका हिसाबले अरू सामाजिक सञ्जालभन्दा टिकटक विश्वसनीय छ”, सचिव अर्यालले भन्नुभयो, “अरू सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो सकारात्मक कार्यको अनुशरण गर्नपर्छ ।”
डिजिटल प्लेटफर्मलाई समाजप्रति पारदर्शी, मर्यादित र जबाफदेहिता बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको सचिव उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको उद्देश्य नभएर सुरक्षित र मर्यादित बनाउने रहेको सचिव अर्यालले बताउनुभयो । साथै यसका लागि सरकारलाई सबैको सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो ।
“सामाजिक सञ्जाल व्यवस्थापनमा प्रयोगकर्ताले ‘कन्टेन्टमा करेक्सन’ गरे धेरै हदसम्म समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । सचिव अर्यालले सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य सार्थक बनाउन सामाजिक सञ्जालको अहम् भूमिका हुने बताउनुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्