तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनजङ्घा गोल्डकप : भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार आज भएको तेस्रो क्वाटर फाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्घा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका क्वाटर फाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

मङ्गलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच पहिलो चरणको अन्तिम खेल हुनेछ ।

प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button