विवाह पञ्चमी अन्तर्गत फूलबारी लिला सम्पन्न
जनकपुरधाम । प्रत्येक वर्ष मङ्सिर महिनाको शुक्लपक्ष तिथिमा मनाइँदै आएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज फूलबारी लिला सम्पन्न भएको छ ।
त्रेतायूगमा मिथिलाका राजा जनकको प्रतिज्ञा अनुसार जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीराम, लक्ष्मण सहित गुरु विश्वामित्र जनकपुरधाम आएको बेला माता सीतासँग फूल टिपिरहेको बेलामा फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लीलाको आयोजना गरिँदै आएको छ ।
जनकपुरधामको ऐतिहासिक महत्वको विवाह मण्डपमा सोमबार साँझ फूलबारी लीलाको आयोजना गरिने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।
आइतबार मङ्सिर १६ गते नगर दर्शनबाट शुरु भएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पर्सी मङ्सिर १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिने छ ।
यसैबीच भारतको अयोध्याबाट बाजागाजा तथा झाकी सहित हिँडेको जन्ति आज महोत्तरीको मटिहानीमा आई पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्