बर्दियामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
बर्दियामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ६३ दशमलव ७९ प्रतिशत मतदान

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ मा शान्तिपूर्ण रुपमा मतदान भएको छ । वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा ६३ दशमलव ७९ प्रतिशत मत खसेको छ ।
ठाकुरबाबा नगरपालिका वडा नं ४ मा जम्मा ३ हजार ५१० जना मतदाता सङ्ख्या रहेको छ । जसमध्ये दुई हजार दुई सय ३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्दियाले जनाएको छ ।
निर्वाचन आयोगले तोकेको समय बिहान ७ः०० बजेदेखि सुरु भएको थियो भने साँझ ५ः०० बजेसम्म मतदान प्रक्रिया जारी रहेको थियो ।
दुई वटा मतदानस्थल भएको सो वडामा कृषि पशु सेवा केन्द्रमा सात सय ४२ र बबई शिशुमन्दिर मावि बर्गदहामा एक हजार चार सय ९७ मत खसेको थियो । निर्वाचनका ५ वटा मतदाता केन्द्र राखिएको छ ।
ठाकुरबाबा नगरपालिका ४ मा महिला एक हजार आठ सय ३९ र पुरुष एक हजार छ सय ७१ गरी मतदाता ३ हजार पाँच सय १० जना मतदाता रहेका छन् ।
वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट विष्णुप्रसाद देवकोटा, नेकपा माओवादीबाट शेरबहादुर थारुले उम्मेदवार हुनुहुन्छ ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट प्रितिलाल थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नाबहादुर शाहीले उम्मेदवार हुनुहुन्छ ।
यस वडामा वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख हुनुभएपछि आज उपनिर्वाचन भएको हो ।
निर्वाचनलाई मध्यनजर गर्दै ठाकुरबाबा नगरपालिका–४ को सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न सहयोग गरेकामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरोकारवाला सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
मतगणना आजै
मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले मतगणना आज साँझ करिब ८ः०० बजेदेखि नै सुरु गर्ने जनाएको छ ।
मतदान सकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने क्रम सुरु भएको छ । राजनीति सहमति जुटाइ आज नै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्