औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली भोलि चीन जानुहुने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि भोलि प्रस्थान गर्दै हुनुहुन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि मङ्सिर २० गतेसम्म ४ दिनसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणको प्रतिनिधिमण्डल गठन तथा भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गुरुङले प्रधानमन्त्री ओलीको चिन भ्रमण टोलीमा मुख्य सचिव, अर्थ सचिव र परराष्ट्र सचिवसहितको उच्च स्तरीय प्रतिनिधिमण्डल सहभागी हुने बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले सरकारले एशियाली विकास बैकबाट क्याइमेट रिजिलिन्ट ल्याण्डस्केप एण्ड लाइभहूडस् परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी डलर अनुदान तथा १० मिलियन डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै नवीनतम यान्त्रिक सिँचाई आयोजनाको कार्यान्वयनका लागि प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय भएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठ, लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र लेखा परीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै चालू आर्थिक वर्षको लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफा समेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५ सय ८५ निर्धारण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सञ्चार मन्त्री गुरुङले भारतमा हुने २९ औ पार्टनरसिप समिटमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्वीकृति दिने र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्