तपाईँ सुन्दै हुनुहुन्छः

मतदान केन्द्रमा निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन लगाए कारबाही गरिने 

काठमाडौँ । निर्वाचन आयोगले भोलि (आइतबार) हुने स्थानीय तहको उपनिर्वाचनका दिन मतदान केन्द्रमा राजनीतिक दल वा निर्वाचन उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाएको पाइएमा कारबाही गरिने जनाएको छ । 

आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा यस्तो निर्देशन जारी गरेको हाे। 

मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीज वस्तु लगाउन, बोक्न वा देखाउन नहुने जनाउँदै आयोगले मतदानको दिन यस्ता कार्य भए / गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्न निर्देशन गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो । 

उहाँले मतदान केन्द्रको परिसरभित्र आचारसंहिता विपरीत कुनै कार्य वा अन्य अवाञ्छित गतिविधि हुन नदिन आह्वान गरिएको  बताउनुभयो ।  उहाँका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पाइने छैन । 

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिन राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८  बमोजिमको कार्य नगर्न र नगराउन निर्देशन गरिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button