चीन भ्रमण उपलब्धिपूर्ण हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल र उपलब्धिपूर्ण हुने बताउनुभएको छ ।
यही मङ्सिर १७ गतेबाट हुने चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले चीनसँग लामो र मित्रवत् सम्बन्ध रहँदै आएकाले दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको जानकारी गराउनुभयो ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ऋणको परियोजना नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा चीन सरकारसँग छलफल हुने पनि बताउनुभयो ।
छलफलमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
बैठकमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसारका सबै देशसँग मित्रवत् सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन प्रधानमन्त्रीको आसन्न चीन भ्रमण केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
छलफलमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवा पूर्व प्रधानमन्त्री द्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्र मन्त्रीहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याल लगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्