प्रधानमन्त्री ओलीको चीन भ्रमण देशको हितमा हुने: सभापति देउवा
जनकपुरधाम । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्र राष्ट्र चीन भ्रमणलाई नेपाली काँग्रेसले निक्कै महत्वका साथ हेरेको बताउनुहुँदै भ्रमण सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले काँग्रेसका नेता स्वर्गीय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्ने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरधाम आउनुभएको बेलामा जनकपुरधाम विमान स्थलमा आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै सो कुरा बताउनुभएको हो । भ्रमण मुलुक र जनताको हितमा हुने विश्वास व्यक्त गर्नुहुँदै भ्रमणले दुई देश बीचको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने आशा सभापति देउवाले व्यक्त गर्नुभयो ।
उहाँले प्रधानमन्त्री ओलीको मित्र राष्ट्र चीनको भ्रमण विआरआई सम्झौताको लागि मात्र नभई दुई देशका मित्रवत् सम्बन्धका लागि भएको बताउनुहुँदै भ्रमणमा देशलाई अहित हुने कुनै प्रकारको सम्झौता नहुने विषयमा पार्टीले यस अघि नै आधिकारिक धारणा राखी सकेको बताउनुभयो ।
सभापति देउवाले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुहुँदै पार्टीसँग भएको सहमति अनुसार नै ओली नेतृत्वको वर्तमान सरकार चल्ने र यसमा पार्टीको समर्थन रहने बताउनुभयो ।
नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँगै जनकपुरधाम आउनु भएका सभापति देउवाले धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न-२५ लोहनामा निर्माण भएका काँग्रेसका नेता स्वर्गीय अरविन्द ठाकुरको आजै प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्