कर्णालीमा योजना छनोटलाई पारदर्शी बनाउँदै छौ: मुख्यमन्त्री कँडेल
जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सरकार पिच्छे योजना र नीति कार्यक्रम फेरिने परिपाटीको अन्त्य गरिएको बताउनु भएको छ । सत्ता साझेदार दल फेरिने बित्तिकै सरकार योजनानै फेरिने,नीतिनै बदलिने परिपाटीको अन्त्य गरिएको मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो ।
शुक्रबार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो,‘सरकार पिच्छे फेरिने योजना र नीतिले अस्थिरता निम्त्यायो । लगानीअनुसार प्रतिफल पनि पाईएन् । त्यसैले अब योजना छनोटलाई पारदर्शी बनाउन छुट्टै नीति बनाउने तयारीमा छौ । सांसद र मन्त्रीका आसेपासेले योजना खरिद विक्री गरेको व्यापक गुनासो बढेको छ । त्यसैले पनि योजना छनोटमा सरकारले कडाइ गर्दै छ ।’
योजना छनोटलाई पारदर्शी बनाउने बित्तिकै योजना ल्याउन,निर्माण सुरुगरेदेखि भुक्तानी पाउने बेलासम्म कसैले-कसैलाई अतिरिक्त शुल्क समेत तिर्नु नपर्ने मुख्यमन्त्री कँडेलको भनाई छ । योजना छनोट देखी निर्माणमा पारदर्शी गरेको खण्डमा विकास निर्माण,सेवा प्रवाह सुशासन कायममा स्थिरता ल्याउने अपेक्षा गरिएको छ ।’
विकासमा स्थिरता ल्याउन सरकार र सहयात्री परिवर्तन हुँदा योजना परिवर्तन हुने परिपाटीलाई निरुत्साहित गरेको मुख्यमन्त्री कँडेलले दाबी गर्नुभयो । प्रदेशका योजना बिचौलियाको पकटमा रहेको गुनासो पनि त्यतिकै जोड उठिरहेको छ । योजना किनबेच गर्ने वस्तु होइन । व्यापारिक साधन पनि होइन । योजना जनताका लागि हो भन्ने जागरण फैलाउन पनि जिल्ला जिल्लामा पुगेको मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो ।
साथै अब योजना छनोटको सकेसम्म छुट्टै नीति बनाउने नभए निश्चित मापदण्ड तोकेर मात्रै योजना छनोट गरिने भएको छ । कर्णालीमा योजना ल्याएको भन्दै पैसा खाने,विल भरपाई उठाएको निहुँमा शुल्क तिर्नु पर्ने गुनासा बढिरहेकोले अब योजनापास देखि भुक्तानी सम्म अब कसैले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन । त्यस्तै कर्णालीको भौगोलिक विकटता र पूर्वाधार विकासको आवश्यकतालाई मध्यनजर गर्दै ३० लाख माथिका योजना मात्रै प्रदेशले पठाउने र ३० लाख मुनिका कुनै पनि टुक्रे योजना कार्यान्वयन नहुनेमा समेत मुख्यमन्त्री कँडेलले जोड दिनुभयो ।
उत्पादनका आधारमा मात्रै कृषि अनुदान दिने,उत्पादनको बजारीकरण,किसानको प्रोत्साहन,ढुवानीमा सहुलियत जस्ता कुरामा समेत ठोस नीति बनाएर कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रष्ट पार्नुभयो ।
आन्तरिक आय वृद्धि गर्न,कर्णालीको जल,जमिन,जडीबुटी,जङ्गल,पर्यटन, लगायतका सम्भावनालाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धि र रोजगारी सृजनाको वातावरण बनाउन सरकारले कसरत गरिरहेको उहाँको भनाई छ ।
गत आवको तुलनामा चालुको प्रथम चौमासिक खर्च न्युन भएको प्रश्नमा मुख्यमन्त्री कँडेलले प्रष्ट पार्दै भन्नुभयो,‘चालु आर्थिक वर्षको चार महिनामा प्रदेशका ५० प्रतिशत योजना निर्माणको प्रक्रियामा गएका छन् । पुँजीगत खर्च अपेक्षित छैन । तर गत वर्षतिर असारको भुक्तानी साउन भदौमा दिएर खर्च प्रतिशत बढाइन्थ्यो । तर हामीले असारको सबै भुक्तानी असारमै दियौ । चालुमा न्युन खर्चदेखि पनि योजना अधिकांश निर्माणको प्रक्रियामा पुगेका छन् ।’
सुर्खेतमा पनि मेडिकल कलेज सञ्चालन गर्ने पक्षमा आफु नभएको तर डाक्टर भगवान् कोइरालाको संयोजकत्वमा समिति गठन गरी सुर्खेतमा शिक्षक अस्पताल खोल्न सम्भावना चुनौती के कस्तो छ भन्ने विषयमा छलफल अघि बढेको उल्लेख गर्नुभयो । कर्णालीमा बजेटको कमी छैन, तर काम हुन सकेको छैन त्यसैले निर्माण व्यवसायीलाई समेत जिम्मेवार बनाउन प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाई छ
शनिवार सम्म जुम्लामै बस्ने मुख्यमन्त्री कँडेलले जिल्ला स्थित संघ तथा प्रदेशका कार्यालय प्रमुखसँग छलफल गर्ने,योजनाको विकास निर्माण योजनाको अनुगमन गर्न,सर्वदलीय बैठक गर्न तथा किसान सँग अन्तरक्रिया गर्ने छन् ।
प्रतिक्रिया राख्नुहोस्