रुपन्देहीमा हुने मगर साहित्य महोत्सव तयारी पूरा
रुपन्देही । नेपाल मगर महिला संघ रुपन्देहीले यही मङ्सिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारी पूरा भएको जनाएको छ ।
महोत्सव मूल आयोजक समितिको सचिवालय बैठकले तयारीलाई तीव्रता दिन कार्यतालिका तय गरेको छ।
सचिवालय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक यम रानाका अनुसार मङ्सिर ५ गते प्यानल डिस्कशनको विषय छनोट तथा पात्रका बारेमा तयारी बैठक, ८ गते स्वयंसेवकका लागि अभिमुखीकरण, मङ्सिर १२ गते आयोजक समितिको पूर्ण बैठक तथा मङ्सिर १६ गते पत्रकार सम्मेलन लगायतका कार्यतालिका तय गरिएको छ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संरक्षणमा टेवा पुग्ने गरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीहरूको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने महोत्सव प्रचार समितिका संयोजक रानाले जानकारी दिनुभयो ।
देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरूको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।
सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरूलाई जोड्न १ दर्जनभन्दा बढी देशहरूमा उपसमिति गठन गरी तयारीलाई अघि बढाइएको प्रचार संयोजक रानाले जानकारी दिनुभयो ।
महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता वाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शङ्कर गाहाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः रु.१० हजार, रु.५ हजार र रु.३ हजार नगद राशीले सम्मान गरिने छ । त्यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहन स्वरूप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिनुभयो ।
सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिनुभयो ।
सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरूबाट सहयोग सङ्कलन, क्युआर कोटबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी सङ्कलन गरिने थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्