तपाईँ सुन्दै हुनुहुन्छः

डाक्नेश्वरी–१ र ४ को वडाअध्यक्ष पदका लागि दर्जन बढीको उम्मेदवारी दर्ता

सप्तरी । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडाअध्यक्ष पदका लागि आइतबार विभिन्न पार्टीका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन् ।

पातोस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन । वडा अध्यक्ष पदका लागि नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायत दर्जन बढीको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट १ नम्बर वडा अध्यक्षमा संजय यादव र ४ नम्बर वडा अध्यक्षमा जोगिन्द्र राय, जसपा नेपालबाट १ नम्बर वडा अध्यक्षमा धिरेन्द्र साह र ४ नम्बर वडामा देवेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । वडा नम्बर १ का अध्यक्षका उम्मेदवार साहका वारेस राजेश्वर रायले उम्मेदवारी दर्ता गराएका छन् ।

वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि मात्र जसपामा प्रवेश गरेका थिए ।

यसैगरी नेपाली काँग्रेस १ नम्बर वडा अध्यक्षमा भगवानी साह र वडा नम्बर ४ मा भुलिया देवी थरुनी, नेकपा माओवादी केन्द्र १ नम्बर वडा अध्यक्षमा प्रमोद कुमार सन्त र ४ नम्बर वडा अध्यक्षमा भागवत राम र नागरिक उन्मुक्तिबाट १ नम्बर वडा अध्यक्षमा अनिरुद्ध प्रसाद चौधरी, ४ नम्बर वडा अध्यक्षमा शिव कुमार रामले मनोनयन दर्ता गराएको जनाएको छ ।

यसैगरी जनमत, लोसपासहितका अन्य दल र स्वतन्त्रबाट समेत उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button