तपाईँ सुन्दै हुनुहुन्छः

सहमतिको आधारमा जग्गा एकीकरणको कामलाई तीव्रता दिन निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्षको शपथ ग्रहण पश्चात् भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरण आयोजनालाई जग्गा धनीको सहमतिको आधारमा तीव्रता दिन निर्देशन दिनुभएको हो ।

जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्ष नियुक्त हुनुभएका राप्ती गाउँपालिका–१ निवासी शुशिलकुमार बस्नेतलाई मुख्यमन्त्री आचार्यले शपथ ग्रहण गराउनुभएको छ । कार्तिक १२ गते बसेको पूर्वाधार विकास समितिको २१ औँ बैठकले बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको थियो । राजधानी शहर निर्माणका लागि २० वर्षे योजना निर्माण गरिएको छ । जुन योजना कार्यान्वयन गर्न एक खर्ब बढी बजेट लाग्ने अनुमान छ । पाँच वर्षको लागि २५ अर्ब लगानीको खोजीमा प्रदेश सरकार जुटेको छ । लगानी सुनिश्चित गरेर हरित र सुविधा सम्पन्न शहर निर्माणको योजना बनाइएको छ । जसका लागि प्रदेश सरकारले विदेशी दातृ निकायसँग पहल गरिरहेको हो ।

२०७७ असोज २० गते बसेको प्रदेश सभा बैठकले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय पारित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button