तपाईँ सुन्दै हुनुहुन्छः

बयान सकिएपछि  लामिछानेलाई पोखरा पठाउने तयारी 

भैरहवा । रूपन्देहीको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अहिले बिहान कास्की लगिने भएको छ । 

बयानका लागि गत मङ्गलवार कास्कीबाट जहाजबाट भैरहवा ल्याइनु भएका सभापति लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध एयरको विमानबाट कास्की लगिने तयारी भएपनि एयरपोर्ट नखुलेका कारण ढिलाइ भइरहेको छ । 

लामिछानेलाई विमानस्थल खुल्ने बित्तिकै कास्की पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी लक्ष्मी खनालले जानकारी दिनुभयो ।

सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग तीन दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिबक्ता प्रेमराज पौडेलले जानकारी दिनुभयो । 

गत मङ्गलवार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मङ्गलवार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको न्यायधिबक्ता पौडेलले बताउनुभयो ।  

बयान लिनेक्रममा जिल्ला न्यायाधिवक्ता पौडेलसहित सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता र प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । लामिछानेसँग बिहीबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो ।

लामिछानेलाई राति ८ः२५ बजे सरकारी वकिल कार्यालयबाट बाहिर निकालिएको थियो । बिहीबार पनि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button