नेपालगन्जमा बन्दैछ १०८ फिट अग्लो हनुमानको मूर्ति
नेपालगन्ज । नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति बन्दैछ । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति बनाउन सुरु गरेको छ । फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको सिभिल इन्जिनियर सुरज शर्माले बताउनुभयो । हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको इन्जिनियर शर्माले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ हनुमानगढीमा १०८ फिट अग्लो अनुमानको मूर्ति निर्माण भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्रा.ली. वसुन्धरा काठमाडौँलाई दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा दिएको छ । १७ मार्च २०२३ मा सम्झौता भएको हो । मूर्ति निर्माणका लागि भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४ सय ९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भएको इन्जिनियर शर्माले जानकारी दिनुभयो ।
नेपालगन्जमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि हनुमानको मूर्ति बनाउन थालिएको हो । भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । यसले नेपालगन्जको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । इन्जिनियर शर्माले अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’ मा यो मूर्ति कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्