तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ८५ किलोमिटर लम्बाइको लेक टु लेक साइकल ट्याक बनाउने योजना

पोखरा । पर्यटकीय नगरी पोखरामा ८५ किलोमिटर लम्बाइको लेक टु लेक साइकल ट्याक बनाइने भएको छ । पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी उक्त साइकल ट्याक निर्माण गर्ने योजना अघि बढाएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । 

संसार भरिका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्न ८५ किलोमिटर लम्बाइको लेक टु लेक साइकल ट्याक बनाउने आफूहरूको योजना रहेको उहाँले उल्लेख गर्नु भयो । यस विषयमा महानगरले गृहकार्य गर्दै अघि बढ्ने क्रममा बिहीबार सरोकारवालासँग छलफल समेत गरेको छ । विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको  मेयर आचार्यले जनाउनु भयो । 

उक्त साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मेयर आचार्यले भन्नुभयो ‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ, पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुङ्गा साबित हुनेछ, यो पोखरेलीको लागि नयाँ पर्यटकीय गन्तव्य नै बन्ने छ ।’ 

पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने उहाँले दाबी गर्नु भयो । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको महानगरले जनाएको छ । प्रारम्भिक चरणमा सुरु गरिएको छलफलमा पोखरामा रहेका पर्यटन लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र पर्ने गरी र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुई वटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्ट रुटहरूका समेत निर्माण गर्दा करिब ८५ कि.मी लम्बाइको साइकल ट्र्याक निर्माण हुने भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button