तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन सम्बन्धी सूचनाको प्रभावकारी सम्प्रेषणका लागि प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उप–निर्वाचन लक्षित कार्यक्रमलाई उच्च प्राथमिकता दिन सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगमा सार्वजनिक सञ्चार माध्यमहरूसँग आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन सम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीको प्रभावकारी सम्प्रेषण गरी निर्वाचनमा बढी भन्दा बढी मतदाताको सहभागिता सुनिश्चित गर्न अनुरोध गर्नुभयो ।

file photo

उहाँले गलत सूचना र गालीगलौज पूर्ण अभिव्यक्तिले निर्वाचनलाई नकारात्मक असर पार्ने भएकाले सामाजिक सञ्जालको प्रभावकारी अनुगम आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले प्रेस काउन्सिलले पत्रकार आचार संहिता २०७३ का आधारमा अनुगम गरिरहेकोमा उपनिर्वाचनलाई मात्र लक्षित गरी छुट्टै आचार संहिता बनाएर अनुगमन गर्न सके अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन स्थानीय तहको वडा तहमा समेत हुने भएकाले जिल्ला संवाददाताहरूले फिल्डमा पुगेर वास्तविकता दर्शाउने समाचार सङ्कलन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले उपनिर्वाचन हुने सबै जिल्लाका सञ्चार माध्यमले आफ्ना समाचारदातालाई विशेष जिम्मेवारी तोकी निर्वाचनसम्बन्धी गतिविधिलाई आ–आफ्नो सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्न अनुरोध गर्नुभयो ।

निर्वाचन आयुक्त सगुन शम्सेर राणाले मतदातालाई मतदानमा प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । आयुक्त राणाले निर्वाचनलाई प्रभावित गर्ने गलत र भ्रामक समाचारको प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगका सचिव रविलाल पन्थले निर्वाचनका सबै प्रक्रिया उपनिर्वाचनमा पनि हुने उल्लेख गर्दै आयोगका निर्णय, सूचना र समाचारलाई प्राथमिकताका साथ प्रकाश प्रसारणका लागि आग्रह गर्नुभयो । सचिव पन्थले आधिकारिकताको मानकका रुपमा सरकारी सञ्चार माध्यमले काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उपनिर्वाचनका लागि मन्त्रालय मातहतका निकायलाई आवश्यक समन्वय र सहजिकरण गरिने उल्लेख गर्नुभयो । सचिव अर्यालले सामाजिक सञ्जाल टिकटकमा कन्टेन्ट फिल्टरेशन र मोडुलेसनको व्यवस्था गरिएकोले निर्वाचनका समयमा हुनसक्ने गलत प्रचारलाई नियन्त्रण गर्न सकिने जानकारी गराउनुभयो ।

छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले उपनिर्वाचन सम्बन्धी समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, राससका महाप्रबन्धक सिद्धराज राई, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह र गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी, महाप्रबन्धक लाल बहादुर ऐरी, प्रेस काउन्सिलका प्रवक्ता दिपक खनाल लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button