रोजगारी नहुँदा रित्तिँदै गाउँबस्ती: भारतको बैंग्लोर रोजगारीको नयाँ गन्तव्य
मुगु । गरिबी र बेरोजगारीको समस्या बढ्दै गएपछि मुगु लगायतका साबिक कर्णालीका नागरिकहरू रोजगारीका लागि भारत जान थालेका छन् ।
जिल्लामा आर्थिक मन्दी भइरहेका बेला घर खर्च टार्न, बालबच्चाको पढाई लेखाई खर्चको जोहो गर्न ठुलो सङ्ख्यामा युवा युवतीहरू भारत पसेका हुन् ।
कर्णाली प्रदेशबाट धेरै नागरिक रोजगारी र राम्रो जीवनको खोजीमा भारतको बैंग्लोर जाने क्रम बढिरहेको छ। विशेष गरी बेरोजगारी, गरिबी र सीमित आर्थिक अवसरको कारणले कर्णालीका युवा युवाहरू र परिवारका सदस्यहरू सहित कामको खोजीमा भारत जाने गरेका छन्।
कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा गरिबी, शिक्षा, स्वास्थ्य, र रोजगारीका अवसरहरूको कमीले गर्दा युवाहरू विदेशिने प्रवृत्ति बढ्दो छ। बैंग्लोरजस्तो विकसित र प्रगतिशील शहरमा रोजगारका अवसरहरू धेरै भएको कारण उनीहरू त्यहाँ जान रुचाउँछन् ।
मुगु जिल्लाका छायानाथ रारा नगरपालिका, सोरू, खतेड र मुगुमकार्मारोङ गाउँपालिका गरि चार ओटै स्थानीय तहका ग्रामीण बस्तीहरू बाट सयौँ युवा जमात भारत गएका छन् ।
निर्माण, होटल, र घरायसी कामहरूमा उनीहरूले काम पाउने सम्भावना छ, जसले उनीहरूलाई आर्थिक समृद्धिमा मद्दत पुर्याउँछ।
तर, बैंग्लोरमा राम्रो काम पाउन र बाँच्न सजिलो छैन । नेपाली कामदारहरू त्यहाँ असुरक्षित वातावरण, न्यून पारिश्रमिक, र भाषागत समस्या जस्ता चुनौतीहरूसँग जुध्नुपर्छ । आधार कार्ड नभएर अरू मार्फत घरमा पैसा पठाउँदा ठगिने समस्या उतिकै छ । ठुलो सङ्ख्यामा नागरिकहरू भारत गएपछि दशै तिहार सकिए लगतै यहाँका गाउँ बस्तीहरू सुनसान जस्तै बनेका छन् ।
प्रतिक्रिया राख्नुहोस्