तपाईँ सुन्दै हुनुहुन्छः

‘गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति’

नेपालगञ्ज । गणेशमान सिंहलाई त्याग र निष्ठाको प्रतिमूर्तिका रुपमा चित्रण गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जको सुर्खेत रोडस्थित गणेशमान चोकमा २०४६ सालका सर्वोच्च कमाण्डर, लौह पुरुष सिंहको ११०औँ जन्मजयन्ति तथा संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री सुवर्ण शमशेरको ४८औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको दीप प्रज्वलन तथा माल्यार्पण कार्यक्रममा बोल्ने वक्ताहरूले सिंहले देखाएको बाटोमा अग्रसर हुन सके कांग्रेस र समग्र मुलुकले लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो ।

केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले नेपालमा प्रजातन्त्रको पुनर्बहालीका लागि सिंहको योगदान अतुलनीय रहेको बताउनुभयो । सिंहको नेतृत्वमा भएको जनआन्दोलनको जगमा जनताका अधिकारहरू स्थापित भएको उहाँको भनाई छ । शमशेरको योगदान पनि पार्टीमा उच्च रहेको भन्दै वाल्मीकिले कांग्रेसजनले आफ्ना नेताहरूको पथ बिर्सन नहुनेमा जोड दिनुभयो ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले काँग्रेसले सिंह र शमशेरले देखाएको बाटोमा हिँड्न सके लक्ष्य हासिल गर्न सकिने भन्दै राजनीतिमा त्याग, सङ्घर्ष, निष्ठा र लगावलाई नेता द्वयले प्रमाणित गरेर देखाएको चर्चा गर्नुभयो । राष्ट्रिय सभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले संस्थापक नेताहरूको मार्गदर्शन कांग्रेसका लागि पूँजी भएको बताउनुभयो ।

सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । त्यस अवसरमा सभापति गौडेलले सिंहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । स्वागत मन्तव्य उपसभापति गोपालप्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, कांग्रेस लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाठक, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला), कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव द्वय रेनु सिंह ठाकुर र विनोदकुमार थारु, प्रवक्ता डिल्ली गिरी, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button