तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड: समूहतर्फ नेपालको वर्चश्व
पोखरा । तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा एकल तर्फ चाइनाले उपाधि जित्न सफल भयो भने समूहतर्फ नेपालको वर्चश्व रहेको छ ।

पोखरामा आयोजित ५० किलोमिटर दौडमा एकल तर्फ चाइनाका खेलाडी एङ ज्याङ जेनले प्रथम स्थान हासिल गर्दा समूह तर्फको (मिश्रित) ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइक्लिङ र रोइङ(बोटिङ) तर्फ नेपाली सेनाको समूहले उपाधि जितेको हो ।
२४ समूहबिच भएको प्रतिस्पर्धामा समूहतर्फ नेपाली सेना उपाधि जित्न सफल भएको हो । आर्मीका श्रीकास राई, सुशील कुमार शाही र सृजना पाण्डेको समूहले ५० किलोमिटरको निर्धारित दुरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा दुरी पार गरी उपाधि जितेको हो ।
प्रतियोगिता अन्तर्गत च्यालेन्ज इन्डिभिजुअल (एकल) तर्फ चाइनाका एङ ज्याङ जेनले उपाधि जित्नुभयो । उहाँले निर्धारित दुरी ५० किलोमिटर दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गर्नु भएको हो ।
च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ भने चिनिया खेलाडी झेङ वाङ रोङ प्रथम हुनुभयो । उहाँले ४ घण्टा ४१ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्नु भयो ।
५ किलोमिटर छात्रतर्फ कास्की मोडनाइजका बादल कार्की प्रथम हुनुभयो । कालिका माविका कृष्ण परियार दोस्रो र डोल्पाको त्रिपुरा माविका रमेश बुढा तेस्रो हुनुभयो ।
यस अघि उक्त प्रतियोगिताको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपाल स्थित चिनिया राजदूत छन सोङ, चिनका युनान प्रान्तका खेल ब्युरो तथा महानिर्देशक याङ जोङहुवा, गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्याल, पोखराका मेयर धनराज आचार्य लगायतले संयुक्त रुपमा गर्नुभएको थियो ।

टिम समूहमा २४ वटा मिश्रित टिम (कम्तीमा एक विपरीत लिङ्गको सदस्य) मा ७२ धावकहरू सहभागी हुनुभएको थियो । ४ चिनियाँ टोली र २० नेपाली टोली सहभागी हुनुभएको थियो । दौडका क्रममा खेलाडीहरूले कुल २२५८ मिटर उचाइ पार गर्नुभयो ।
प्रतियोगितामा टिम समूहतर्फ प्रथम हुनेलाई ४ लाख ५८ हजार ४ सय रुपैंया प्रदान गरिने भएको छ । त्यसै गरी उपविजेतालाई ३ लाख ४३ हजार ८ सय रुपैयाँ, तेस्रो हुनेलाई २ लाख २९ हजार २ सय रुपैयाँ, चौथो हुने लाई १ लाख ५२ हजार ८ सय, पाँचौँ हुनेलाई ९५ हजार ५ सय रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
च्यालेन्ज इन्डिभिजुअल समूह शीर्ष दश पुरुष र महिला खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्राप्त गर्नु हुनेछ । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख ५२ हजार ८ सय रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख १४ हजार ६ सय रुपैयाँ, तेस्रो हुनेले पुरुष र महिलालाई ७६ हजार ४ सय, चौथो देखि सातौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूलाई ३८,२०० रुपैयाँ, आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूलाई १९,१०० रुपैयाँ प्रदान गरिने छ ।







प्रतिक्रिया राख्नुहोस्