पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट १ सय २० जना यात्रुसहित पहिलो चाटर्ड फ्लाइट

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस वर्षको पहिलो चाटर्ड फ्लाइट भएको छ । यस वर्षको पहिलो चाटर्ड फ्लाईट एयरबस ३१९ नम्बरको विमान चाइनाको कुनमिङ शहरबाट आज (बिहीबार) सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो २ः०० बजे पोखरामा अवतरण गरेको उक्त विमान ३ः४० बजे रित्तै काठमाण्डौं तर्फ प्रस्थान गरेको उहाँले जनाउनु भयो । पूर्व सूचित समय तालिका भन्दा करिब ३० मिनेट उक्त विमान छिटो आएको उहाँले बताउनुभयो । उक्त विमानमा चालक दलका बाहेक १ सय २० जना यात्रु आएको उपनिर्देशक सुवेदीले जनाउनु भयो । उक्त टोलीलाई पोखरामा पन्चे बाजा सहित स्वागत समेत गरिएको थियो ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष हुँदै गर्दा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसके पनि चाटर्ड फ्लाई भने कहिलेकाहीँ हुँदै आएको छ । अघिल्लो वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ वटा चाटर्ड फ्लाईट भएको उपनिर्देशक सुवेदीले उल्लेख गर्नु भयो । पोखरामा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडानको लागि पहल भई रहेको उहाँको भनाई थियो ।

पोखरामा आउँदो शनिबार (कार्तिक २४ गते) हुने तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा सहभागी हुने चाइनाबाट खेलाडी सहितका केही अतिथिहरू समेत उक्त विमानले ल्याएको प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले बताउनु भयो । यस अघि पनि अघिल्लो वर्षमा उक्त प्रतियोगिताको लागि चाइनाको कुनमिन शहरबाट पोखरामा सिधै हवाई उडान मार्फत खेलाडी सहित अफिसियलहरु पोखरा आउनु भएको थियो । नेपाल चिन मैत्री संघका अध्यक्ष समेत रहनु भएको संयोजक विश्वशंकर पालिखेले उक्त खेलको माध्यमबाट पोखरा क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नु भयो । उक्त विमानले चाइनिज धावक ६४ जना सहितका अन्य प्राविधिक तथा अफिसियल एवं अतिथिहरूलाई ल्याएको मिडिया संयोजक ई.प्रतीकराज पहारीले बताउनु भयो ।
उक्त प्रतियोगितामा विभिन्न इभेन्टमा गरी १ हजार २ सय ६१ जना धावक सहभागी हुने भएका छन् । प्रतियोगितामा विभिन्न इभेण्टको प्रतिस्पर्धीमा १ सय ३४ जना चाइनिज धावक सहित १ हजार २ सय ६१ जना धावकहरू सहभागी हुने भएको प्रतियोगिताका मिडिया संयोजक ई.प्रतीकराज पहारीले बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चाइना र भुटानबाट एउटा गरी हालसम्म ७ वटा चाटर्ड फ्लाईट भएको हो । नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट फेस्टिभलका लागि गत असार ६ गते ७२ जना चिनियाँ पर्यटक तथा खेलाडीहरूलाई चार्टर उडानबाट पोखरा ल्याइएको थियो ।
त्यस्तै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ यात्रु लिएर ड्रुक एयरले २०८० भदौ २३ गते पोखरामा दोस्रो चाटर्ड उडान गरेको हो । उक्त विमानले पोखराबाट ४२ जना विदेशी पर्यटकलाई लिएर भुटानको थिम्पु प्रस्थान गरेको थियो ।
त्यसै गरी जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरूको लागि चीनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत बर्ष २०८० कात्तिक २२ गते एकै दिन दुई विमानले चाटर्ड फ्लाईट गरेका हुन्। चीनले नेपाललाई करिब २८ करोड भन्दा बढीको राहत प्रदान गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलको माध्यमबाट सुरु भएको चाटर्ड २०८० मङ्सिर ७ गते हिमालयन एयरबाट ७४ जना खेलाडी सहितको १ सय ४ जनाको टिम चाइनाको कुनमिङ शहरबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको थियो । पोखरामा चाटर्ड सहित नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटन व्यवसायीहरूले माग गर्दै आउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्