नेपालगञ्जमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुर
बाँके । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । वाचन शिरोमणि पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्सव आजबाट आरम्भ भएको हो । महोत्सवको एक समारोहका बीच पं पोखरेलले पानसमा दियो बालेर उद्घाटन गर्नु भयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जीवनको अन्तिम सत्यका रुपमा रहेको मृत्युलाई सहज र सम्मानपूर्वक बनाउन वैकुण्ठधामको परिकल्पना गरिएको बताउनु भयो । उहाँले हरेक मानिसको सरोकारको विषय भएकाले वैकुण्ठधाम निर्माण अभियानमा सबैको सहभागिता आवश्यक रहने जिकिर गर्नुभयो ।
उहाँले आफ्नो प्रवचन भागवतमा मात्र केन्द्रित नहुने स्पष्ट पार्दै महोत्सवमा युवा केन्द्रित प्रवचन हुने जानकारी दिनु भयो । विज्ञान र अध्यात्मको सम्बन्धको व्याख्या प्रवचन मार्फत उजागर गरिने बताउँदै पं पोखरेलले आध्यात्मिक दर्शनलाई युवाहरूसम्म पुर्याउने जानकारी दिनु भयो ।
आध्यात्मिक महोत्सवले धार्मिक र साम्प्रदायिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबै धर्म र सम्प्रदायलाई आध्यात्मिक महोत्सवमा सहभागी हुन आग्रह गर्नु भयो । उहाँले बाँकेका सबै स्थानीय निकाय र बर्दियाबाट समेत वैकुण्ठधाम निर्माणमा योगदान रहने विश्वास ब्यक्त गर्दै उहाँले बाँकेमा बन्ने धाम पश्चिम नेपालकै आर्यघाटको रुपमा रहने छ ।
प्रतिनिधिसभा सदस्य दीपा शर्माले महोत्सवबाट आर्जन गरेर नपुगेको रकम सरकारले बजेट मार्फत व्यवस्था गराउने बताउनु भयो । उहाँले वैकुण्ठधाम निर्माणमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारको साझा सङ्कल्प हुनुपर्ने जिकिर गर्नुभयो ।
सिधनियाघाटमा दाहसंस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरूबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनु भयो । उद्घाटनका दिनसम्ममा ५० लाख बढी सङ्कलन भइसकेको उहाँले जानकारी दिनु भयो । उहाँले वैकुण्ठधाम निर्माणका लागि दान गर्न जानेहरूका लागि महोत्सव स्थलमा क्युआर, नगदी रसिद र बैङ्क खाता उपलब्ध गराइएको जानकारी दिनु भयो ।
महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा। सुरेश कुमार कानोडियाले जानकारी दिनु भयो । उहाँका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट व्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।
महोत्सवबाट सङ्कलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतीय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताउनु भयो ।
कार्यक्रममा बाँकेका विभिन्न धार्मिक मठ मन्दिरका साधुसन्तसहित समाजका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्