तपाईँ सुन्दै हुनुहुन्छः

लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक १० दिनको म्याद थप

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि पुनः तेस्रो पटक १० दिन म्याद थप भएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कार्तिक २ गते पक्राउ पर्नुभएको थियो । लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज तेस्रो पटक पुनः बहसका लागि उपस्थित गराइएको थियो ।

रविको थप अनुसन्धानको लागि तेस्रो पटक जिल्ला अदालत कास्कीले १० दिनको म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो । दोस्रो पटक म्याद थप यही कार्तिक १५ गते सकिएकोले सोही दिन देखि लागु हुने गरी १० दिन म्याद थप भएको उहाँले जनाउनुभयो ।

गत कार्तिक २ गते काठमाडौँ वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ पर्नुभएका लामिछानेलाई सोही दिन राति पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ । लामिछानेलाई अदालतमा पेश गर्नु अघिदेखि पोखराको वाइचोक क्षेत्रमा रास्वपाका नेता तथा कार्यकर्ता ठुलो सङ्ख्यामा भिड जम्मा भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिद चोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकोले उहाँहरूले निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीले ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले बताउनुभयो ।

आन्दोलनकारीले निषेधाज्ञा तोड्ने खोजेपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो भने केहीलाई लछारपछार पारेको रास्वपाले आरोप लगाएको छ । पोखराको रत्न चोक वाइचोक क्षेत्रमा रास्वपाले प्रदर्शन समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button