तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा आगलागी,झण्डै तीन करोड बराबरको क्षति

सर्लाही । जिल्लाको बरहथवा बजारमा रहेको किराना पसलमा गएराति भएको आगलागीबाट ठूलो क्षति भएको छ। बरहथवा नगरपालिका–७ मा नरेश साहले सञ्चालन गर्दै आएको किराना पसलमा आगलागी भएको हो । आगलागीबाट झण्डै  तीन करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार नरेशले किसुन दासको घरमा भाडामा लिई पसल सञ्चालन गर्दै आएका थिए ।दासको घरमा आगलागी हुँदा त्यस घरमा  नरेश साहले  सञ्चालन गरेको राजवीर होलसेल किराना पसल,सरोज राउत कुर्मीको कपडा सिलाउने टेलर र विजय दासको आलु भण्डारमा ठूलो क्षति भएको छ ।

स्थानीयबासिन्दा, सुरक्षाकर्मी, र हरिवन नगरपालिकाबाट लगिएको  दमकलको सहयोगमा आगो निभाइएको थियो । राति ११ बजेबाट सल्केको आगो निभाउन झण्डै २ घण्टा लागेको प्रहरीले जनाएको छ । प्रनाउ थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सरसामग्री स्टोर गरेर राखिएकाले आगलागीबाट उक्त  पसलमा बढी क्षति पुगेको छ ।आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button