लक्षित कृषकमा नपुगेपछि कृषिमा अनुदान कटौती : उपसभामुख दनुवार
उदयपुर । कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले लक्षित कृषकलाई कृषि अनुदान नपुगेपछि कोशी प्रदेश सरकारले कृषिमा अनुदान कटौती गरेको बताउनुभएको छ ।
कृषि ज्ञान केन्द्र उदयपुरद्वारा ४४ औ विश्व खाद्य दिवसको अवसरमा आयोजित कृषक सम्मान कार्यक्रममा उहाँले वास्तविक कृषकलाई अनुदान दिने नीति भए पनि केही टाठाबाठा कृषकहरूले मात्र अनुदान पाउने गरेको भेटिएपछि अनुदान कटौती गरेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेश सरकारले यस वर्षबाट कृषिमा दिने अनुदान हटाएर कृषि ऋणको ब्याजमा अनुदान उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।
त्यस अवसरमा कृषि ज्ञान केन्द्र उदयपुरले आर्थिक वर्ष २०८१/८२ स्वीकृत कार्यक्रम अन्तरगत ४ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । रौतामाई गाउँपालिकाकी सुमित्रा सिंह प्रथम, चौदण्डीगढी नगरपालिकाका रत्न कुमारी खड्का द्वितीय, ताप्ली गाउँपालिकाकी राधा कुमारी गिरी तृतीय र चौदण्डीगढी ६ का कृषक दुर्गा नारायण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
सोही कार्यक्रममा विश्व खाद्य दिवसको अवसरमा माध्यमिक निबन्ध कला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुख योगेन्द्र प्रसाद यादवले बताउनुभयो ।
निबन्धकला प्रतियोगितामा जनता मावि देउरीका छात्र अश्विन काफ्ले प्रथम, क्यानभास एकेडेमीका छात्र अभिजित साह द्वितीय, मावि नेपालटारकी छात्रा पुनम खड्का तृतीय र नमुना मावि मुर्कुचीका छात्रा लिजा मल्ल ठकुरीले सान्त्वना पुरस्कार पाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्