तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति पौडेलको यही कार्तिक २५ गते देखि ३० गते सम्म हुने अजरबैजानको भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डलले अजरबैजानको बाकुमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन कोप २९मा भाग सहभागी हुने कार्यक्रम रहेको छ । 

यस्तै मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोगको अध्यक्षतामा  हरिप्रसाद रिजाल प्युठान, उपाध्यक्षमा सनतकुमार कार्की जाजरकोट, तथा सदस्यहरूमा गुञ्जबहादु खड्का महोत्तरी, अनिलकृष्ण प्रसाई झापा, डा. जगतबहादुर बस्नेत सिन्धुपाल्चोक, टेकबहादुर शाह कैलाली, गोवर्द्धन कोली दार्चुला  र आरती भण्डारी तनहुँलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा प्रहरी नायव महानिरीक्षक डिआइजी किरण राणा र प्राविधिक समूह तर्फको रिक्त एआईजी पदमा डिआइजी डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्ने निर्णय गरेको छ । 

यस्तै मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ्ग निवारण नियमावली २०८१ र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ स्वीकृत गर्ने, नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजविन समितिको म्याद दुई महिना थप गर्ने, नयाँ बुटवल लमही ४ सय केभि प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा पर्ने करिब शून्य दशमलव २६ हेक्टर तथा  माछा खोला जलविद्युत आयोजना निर्माणका लागि गोर्खाको धार्चे गाउँपालिकामा रहेको ४ दशमलव ५९ हेक्टर राष्ट्रिय बन क्षेत्रको जग्गा प्राप्त गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button