प्लास्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलहरू कारबाहीमा
पोखरा । प्लास्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलहरू पोखरामा कारबाहीमा पर्न थालेका छन् । पोखरा महानगरपालिकाले प्लास्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाए पनि केही पसलहरूले बिक्री गर्न थालेकोले पोखराका केही पसलहरूलाई कारबाही गरिएको महानगरले जनाएको छ ।

महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लास्टिकजन्य फुलका माला र फूलका गुच्छा बिक्री गर्ने ८ वटा पसलमा अनुगमन गर्दा ३० हजार मूल्य बराबरको प्लास्टिकजन्य फूलका गुच्छा र माला जफत गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव अनिल कार्कीले बताउनुभयो । उक्त पसलका सञ्चालकहरूलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको उहाँले जनाउनुभयो ।
महानगरले प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको हो । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा प्लास्टिकका फूल र माला बढी आयात हुने र बिक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जनाउनु भयो ।
प्लास्टिकजन्य फूलका माला बिक्री वितरणमा गरिएको अनुगमन प्रभावकारी देखिएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो । उहाँले लगातार तेस्रो वर्ष पनि अनुगमन गर्दा विगतमा जस्तो प्लास्टिकका फूल र माला कम भएको बताउँदै अनुगमन प्रभावकारी देखिएको बताउनुभयो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वि.स. २०७९ साउन १२ गतेबाट राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको थियो ।
वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु १५हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा रहेको छ । महानगरले गत वर्ष १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्