तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा ३५ हजार २४१ जनाको आँखाको जाँच तथा उपचार

गोरखा । गोरखा जिल्लामा गोरखा लायन्स आँखा सेवा केन्द्रले गत आर्थिक वर्ष र चालु वर्षको तीन महिनामा गरी कुल ३५ हजार २४१ जानको आँखा जाँच तथा उपचार गरेको जनाएको छ ।

आर्थिक वर्ष ०८०।०८१ मा ओपिडी सेवा लिनेको सङ्ख्या १३६५९ जना, विद्यालय आँखा जाँच कार्यक्रममा ५६ वटा शिविरमा १० हजार १४२ जना, समुदाय आँखा जाँच कार्यक्रम २२ वटामा चार हजार २१२ जना, वृहत् मोतियाविन्दु शल्यक्रिया दुइटा भएकामा १३१ जनाको उपचार गरिएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले बताउनुभयो ।

कुल ३८७ जनाको शल्यक्रिया गरिएको थियो । चालु आर्थिक वर्षमा १५ जना महिला र १८ जना पुरुष गरी ३४ जनाको मोतिया विन्दु र २५ जनाको माइनर शल्यक्रिया गरिएको अधिकृत अर्यालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा दुई हजार पाँच सय ७१ महिला र एक हजार ४४४ जना पुरुष गरी चार हजार १५ जनाले ओपिडी सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखराको सहयोगमा प्रत्येक महिना १९, २० र २१ गते गोरखामा मोतियाविन्दुको शल्यक्रिया हुने गरेको छ ।

२०६१ सालमा स्थापना भएको सेवा केन्द्रले हाल जिल्लाको पालुङटार, सिरानचोक, आरुघाट र भीमसेन थापा गाउँपालिकामा केन्द्र विस्तार गरी सेवा दिइरहेको अधिकृत अर्यालले बताउनुभयो । हाल सम्म गोरखा लायन्स आँखा सेवा केन्द्रबाट दुई लाख भन्दा धेरैले सेवा लिएको अर्यालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button