तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाइने छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताउनुभएको छ । काठमाडौँको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मङ्गलवार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिस्थितिमा व्यावसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको उहाँको भनाइ छ । सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

‘७७ वटै जिल्लामा परिचालन विस्थापित सशस्त्र प्रहरी बललाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा युग सुहाउँदो बन्दोबस्त सामग्रीले सुसंस्कृत गर्दै लैजान गृह मन्त्रालय प्रयासरत छ,’ उहाँले भन्नुभयो, ‘नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट कुनै कमी नहुने कुरामा विश्वस्त रहन आग्रह गर्दछु ।’

मौजुदा स्रोत साधनको प्रयोग गरी नजिता हासिल गर्नेतर्फ विगत र वर्तमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन छ । ‘सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरे लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ,’ उहाँले भन्नुभयो, ‘विधिको शासन र कानुनी राज्यको मुल मर्मलाई आत्मसात गर्दै कानुन पालना गर्ने गराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही सञ्चालन गर्नु गराउनुपर्ने अहिलेको अपरिहार्य आवश्यकतालाई मनन गर्नु होला ।’

प्रशिक्षण कार्यलाई समयानुकूल थप आधुनिक र वैज्ञानिक बनाउँदै लगिएको भन्दै यसले राज्यलाई दक्ष र व्यवहारिक अधिकृत निर्माणमा खेलेको भूमिकाको गृहमन्त्री लेखकले प्रशंसा गर्नुभयो । सशस्त्र प्रहरीभित्र एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढंगले अगाडि बढ्ने व्यवस्था गरिने गृहमन्त्री लेखकले बताउनुभयो ।

सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्ठकृत गर्दै लैजाने भन्दै आगामी संघीय संसद् अधिवेशनमा पेस गरिने उहाँले बताउनुभयो । ‘सशस्त्र प्रहरी बलको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा अगाडि बढेको छौँ । यसले सशस्त्र प्रहरी बललाई थप सक्षम, सबल र व्यावसायिक बनाउने मैले विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा छ । आगामी संघीय संसद्को अधिवेशनमा पेस गरी कानुन निर्माण गरेर जाने छौँ ।’

सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्माण गरेको उहाँले बताउनुभयो । ‘सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेको स्थिति छ । नेपाल सरकारले कानुनी व्यवस्था गरेर खेलाडीहरूलाई विशेष नियुक्त गर्न सक्ने गरी नीति बनाउन लागेको छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button