तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँच बुँदे समझदारीपत्र

ललितपुर । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ । 

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका अवसरमा आज सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा डा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीका अध्यक्ष डा ओ बोङ याङबीच हस्ताक्षर भएको हो । हस्ताक्षरसँगै पाँच बुँदे समझदारीपत्र आदानप्रदान गरिएको छ ।

शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा पन्तले जानकारी दिनुभयो । समझदारीमा विश्वविद्यालयको विषयगत सङ्काय, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गर्ने कुरा उल्लेख गरिएको सम्मेलनका संयोजक सहायक प्राध्यापक टङ्क मुखियाले जानकारी गराउनुभयो । सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थी, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान, संयुक्त रुपमा अनुसन्धान सञ्चालन, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने समझदारी भएको हो ।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्रा डा ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइज गर्नुभएको छ । उहाँले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकका रुपमा रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button