तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय घरधुरी चेपाङलाई सुधारिएको चुलो वितरण

चितवन । चितवनको इच्छा कामनाका चेपाङ समुदायलाई सुधारिएको चुलो वितरण गरिएको छ ।

सपना भिलेज सोसल इम्प्याक्टले गाउँपालिकासँगको सहकार्यमा वडा नं १ का ७५० घरधुरीलाई चुलो वितरण गर्ने योजना अनुरुप आइतबार हात्तीवाङका २०० घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको हो ।

भाराङ र कोल भन्ज्याङका चेपाङ समुदायलाई पनि सोमबार चुलो वितरण गरिने सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, पूर्व सांसद कृष्णभक्त पोखरेल, गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल र सपना भिलेजका अध्यक्ष गिरीले संयुक्त रुपमा सुधारिएको चुलो हस्तान्तरण गर्नुभएको थियो ।

सपनाका अध्यक्ष गिरीले सात वर्ष अघिदेखि चेपाङ समुदायका जीवन स्तर उकास्ने र उनीहरूको जीवन शैलीमा परिवर्तन ल्याउन काम गरिँदै आएको बताउनुभयो । वातावरण संरक्षण र चेपाङ समुदायका महिलाहरूको स्वास्थ्य जोगाउन निःशुल्क चुलो प्रदान गरिएको उहाँको भनाई छ ।

अध्यक्ष गिरीले १९ लाख ८० हजार लगानी गरेर तीन वटा चेपाङ बस्तीका ७५० घरधुरीलाई चुलो वितरण गर्ने योजना रहेको बताउनुभयो । आइतबार दुई सय घरधुरीलाई वितरण गरिएको र बाँकी घरधुरीलाई सोमबार वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button