लोकतन्त्रलाई सुदृढ बनाउन सकेमात्रै मुलुक समृद्ध बन्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई बलियो बनाउन सबै भाषा र संस्कृतिको संरक्षण गरी विविधता बीच एकताको खोजी गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समितिबाट मैथिली र नेपाल भाषामा समाचार सेवा शुभारम्भका अवसरमा आज समितिले काठमाडौँमा गरेको कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सबै भाषा र संस्कृतिको संरक्षण गरी सबैमा राज्यप्रति अपनत्वको भावना विकास गर्नुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन सके मात्रै नेपाल जस्ता विविधतायुक्त समाज भएको ठाउँमा एकता कायम गरी विकास र समृद्धितर्फ मुलुकलाई लैजान सकिने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले नेपाली समाजलाई समावेशी बनाउने अभियानका रुपमा सरकारले सरकारी सञ्चारमाध्यमहरूमा मातृभाषाका समाचार तथा कार्यक्रमहरूलाई प्राथमिकता दिने नीति लिएको बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले मातृभाषाको समाचारले सम्बन्धित भाषिक समुदायको पहिचान र आत्मसम्मान बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृभाषाका समाचार तथा कार्यक्रमहरूले भाषाको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भाषा आयोगका सदस्य सुरेश मानन्धर, भाषाविद् एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक योगेन्द्रप्रसाद यादव लगायतले राष्ट्रिय समाचार समितिको मातृभाषाको समाचार सेवाले मातृभाषाका सञ्चारमाध्यम हरुको विकास र स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्