तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो गोल्ड कप सुरु

file photo

 नवलपरासी ।दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कोल्हुवामा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राई नो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता  आजदेखि सञ्चालन हुँदै छ । 

मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित राई नो रङ्गशालामा आयोजना हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् । खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राई नो क्लबका अध्यक्ष दोमन भण्डारीले बताउनुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्नुहुने प्रतियोगिताको उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्ने छन् । भारतको मणिपुरबाट फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने राई नो क्लबका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । 

यही कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित रु आठ लाख पुरस्कार हात पार्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । प्रतियोगिता विसं २०७०देखि सञ्चालन हुँदै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button