परोपकारी काम सहित आज ‘एनआरएनए डे’ मनाइयो
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घले संस्थाको स्थापना दिवस (एनआरएनए डे) स्वयम्भू र पशुपतिनाथ मन्दिरमा पूजाआजा गरी भब्यरुपमा मनाएको छ ।
नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ । समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली सङ्घको विश्वका ८७ देशमा शाखा रहेको छ । गैरआवासीय नेपाली दिवसको शुभ अवसरमा संस्थाले शुक्रवार बिहान स्वयम्भू नाथ र पशुपति नाथमा पूजा आजा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितमा केन्द्रीय कार्यालयमा झन्डोत्तोलन गर्दै मनाएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार स्थापना दिवसको अवसरमा सङ्घले अक्टोबर पुरै महिना विभिन्न संस्थागत तथा परोपकारी कामका गतिविधि सञ्चालन गर्न संघका राष्ट्रिय समितिहरूलाई आग्रह गरिएको छ । कार्यक्रममा संघका उपाध्यक्ष रोज़ीना प्रधान राई , कोषाध्यक्ष सुदन थापा सल्लाहकारहरू अतुल कोइराला , डीबी कार्कीलगायतको उपस्थित रहेको थियो ।
सङ्घले स्थापना दिवसको मुल समारोह तथा वार्षिक साधारणसभा भने आगामी अक्टोबर २७ र २८ तारिख काठमाण्डौंस्थित होटल सोल्टीमा आयोजना गर्ने तयारी गरेको छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । वार्षिक साधारण सभामा संस्थाको सांगाठनिक तथा आर्थिक प्रतिवेदन पेश हुने संघका महासचिव गौरीराज जोशीले जानकारी दिनुभयो ।

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पर्–याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरूको सक्रियतामा सन् २००३ अगष्टमा लण्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११ – १३ तारिखमा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैरआवासीय नेपाली सङ्घको स्थापना भएको थियो।
लण्डन बैठकमा बेलारुसबाट डा उपेन्द्र महतो, रसियाबाट भिम उदास र जीबा लामिछाने, जर्मनीबाट रामप्रताप थापा, अमेरिकाबाट राज उपाध्याय, अस्ट्रेलियाबाट दिपक खड्का, क्यानडाबाट कुञ्जर शर्मा, बेलायतबाट डा।राघव धिताल, चिरञ्जीवी ढकाल, हरिविभोर कार्की, निमा लामा, महन्त श्रेष्ठ, ध्रुव केसी, माधवलाल श्रेष्ठ, बालमकुन्द जोशी लगायतको उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्