तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाको दशैँघरमा फूलपाती भित्र्याइयो

गोरखा । गोरखा दरबार स्थित दशैँ घरमा आज फूलपाती भित्र्याइएको छ । कालिका मन्दिर परिसरमा रहेको दशैँघरमा फूलपाती भित्र्याइएको हो ।

सतिपिपलस्थित फूलपाती भन्ज्याङबाट बस्नेत र मगर थरका मानिसहरूले बोकेर ल्याएका फूलपाती दशैँ घरमा भित्र्याइएको हो । यस अघि आज बिहान काठमाडौँको हनुमान ढोकामा फूलपाती पठाइएको छ ।

सडक मार्ग नखुल्दा गोरखाबाट धादिङको जीवनपुर हुँदै पैदल मार्गबाट फूलपाती काठमाडौँ पठाउने चलन रहिआएको थियो । सडक सञ्जाल विस्तार भएसँगै सवारी मार्फत फूलपाती काठमाडौँ पठाउने गरिएको हो ।

आज बिहान बा २ झ २११८ नम्बर को सरकारी सवारी मार्फत फूलपाती काठमाडौँ पठाइएको गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दरबारका मगर थरका सुसारे र पुजारीहरूले गोरखा नगपालिका आले गाउँ, रिप, सतिपिपल क्षेत्रमा पाइने फूल, पाती, बेलपत्र, केरा, हलेदो, धान, अशोक, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखु लगायतका लहरा पात र फूलपाती सतिपिपल स्थित डाँडामा राखेर बाजागाजा सहित मन्दिरमा लगेर पूजा गर्ने र त्यसपछि काठमाडौँका लागि पठाउने गरिन्छ ।

गोरखाबाट पठाएको फूलपाती काठमाडौँको हनुमान ढोका पुर्‍याएपछि दशैँ सुरु भएको मान्ने चलन रहिआएको छ ।

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयी गरेसँगै गोरखाको फूलपाती काठमाडौँ हनुमान ढोकामा भित्राउने प्रचलनको सुरुवात भएको अभिलेख रहेको छ ।

फूलपाती काठमाडौँ पठाउने क्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतका जिल्ला स्थित प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button