राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजा अर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंकाे अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गर्नुभयो ।
काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने याे मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।
सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रकाे पुन निर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुन निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता औँल्याइनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
राष्ट्रपति पौडेल मन्दिर पुग्नुहुँदा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्