कोहलपुरमा १ करोड २५ लाखको लागतमा अत्याधुनिक शवदाह गृह बन्दै

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिकाले डुडुवा र रोहिनी खोलाको दोभानमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने भएको छ । कोहलपुर नगरपालिका–११ स्थित उक्त स्थानमा बन्न लागेको शवदाह गृहको आज शिलान्यास गरिएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाह गृहको संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । नगर प्रमुख आचार्यले शवदाह निर्माण भएपछि करिब ४२ किलोमिटर टाँढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने बताउनुभयो । कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्यष्टिका लागि राप्तीसोनारीको अगैया र बबई समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो,उहाँले भन्नुभयो-अब त्यो अवस्था रहँदैन ।प्रारम्भिकरुपमा करिब १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख सुवेदीले गरिव तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्यष्टि गर्न लैजान नै महंगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहले अन्त्य गर्ने बताउनुभयो । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले नगरबासीको चाहना र आवश्यकतालाई बुझ्दै नगर प्रमुख आचार्य नेतृत्वको टिमले कोहलपुरमा शवदाह गृह निर्माणको काम प्रारम्भ गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यास गरिएको शवदाह गृह निर्माण समितिक संयोजक अधिकारीले जानकारी दिनुभयो । शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइनेछ । त्यहाँ मलामीहरु बस्नका लागि संरचना बनाइने छ भने शौचालयको पनि व्यवस्थापन गरिने छ । अधिकारीका कोहलपुर शवदाह गृह निर्माणका लागि ग्लोवल बैंकले ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ भने एभरेष्ट बैंक र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्