तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा जन्मदर्ता गर्नेको सङ्ख्या सबैभन्दा बढी

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको जन्मदर्ताको  विवरण अनुसार सबैभन्दा बढी जन्मदर्ता गर्नेको सङ्ख्या कर्णाली प्रदेशमा रहेको र सबैभन्दा कम जन्मदर्ता गर्ने प्रदेश बागमती रहेको छ । 

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा तथ्याङ्क विभागले नेपालमा शुन्य दशमलव ५ प्रतिशत भन्दा कम जनसङ्ख्या भएको १ सय १५ जातजातिहरूको विवरणबारे जानकारी गराएको छ ।

सरकारले नेपालमा १ सय १५ वटा जातजाति अल्पसङ्ख्यक र ४७ वटा स्थानीय तहलाई पिछडिएको छेत्रमा राखेको छ । 

नेपालमा सबैभन्दा कम जनसङ्ख्या भएको जातजातिमा नुराङ जाती रहेको र उनीहरूको जम्मा ३६ जना मात्रै जनसङ्ख्या रहेको तथ्याङ्क छ । 

साक्षरता दर न्युन भएका २४ जातजाति रहेकोमा सबैभन्दा कम सारक्षरता भएकोमा क्रमशः मुसहर, डोम, नटुवा रहेको कार्यालयले जनाएको छ ।

यसैगरी पछिल्लो समय एकल परिवारमा बस्नेको सङ्ख्या बढ्दै गएको र २०७८ सालको जनगणना अनुसार नेपालमा ६० प्रतिशत मानिस एकल परिवारमा बसोबास गर्ने र ४० प्रतिशत संयुक्त परिवारमा बसेको तथ्याङ्कमा देखिएको कार्यालयले समितिमा जानकारी गराएको छ  ।

बैठकमा सांसदहरुले राज्यका मुल प्रवाहमा आउन नसकेका समुदायको पहिचान अझै प्रभावकारी रुपमा हुन नसकेको, विभिन्न जातजातिको साक्षरता दर हेर्दा सन् २०२५ सम्ममा सबैलाई साक्षर बनाउन सक्ने अवस्था नदेखिएको, वास्तविक अल्पसङ्ख्यकले अवसर पाउन नसकिरहेको, जनगणनामा सही तथ्याङ्क सङ्कलनमा ध्यान दिनुपर्ने लगायतका विषय उठाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button