तपाईँ सुन्दै हुनुहुन्छः

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । 

महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

नेताहरूको जिम्मेवारी तथा कार्य विभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्य विभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ ।  कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ । नेताहरूको कार्य विभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button