व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकार उद्योगी व्यवसायीको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुधबार उद्योग वाणिज्य संघ मकवानपुरद्वारा आयोजित स्वागत, सम्मान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उद्योग व्यवसायको विकास र विस्तार बिना रोजगारीको अवसर सिर्जना असम्भव भएको बताउनुभएको हो ।
मुख्यमन्त्री लामाले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सहकार्य गरेर काम गर्ने बताउनुभयो । उहाँले उद्योगीसँग कर लिएपछि उनीहरुलाई सेवा सुविधा पनि दिन जरुरी रहेको बताउनुभयो । ‘उद्योगका समस्याहरू धेरै छन् । लगानीकर्ताले जहिले पनि सुरक्षित महसुस गर्ने वातावरण राज्यले तयार पार्न जरुरी छ । त्यसका लागि कर छुट दिने हो वा अन्य सेवा सुविधा यस विषयमा राज्य क्लियर हुन जरुरी छ,’ मुख्यमन्त्री लामाले भन्नुभयो ।
मुख्यमन्त्री लामाले सर्वसाधारण, राजनीतिक दल र भ्रातृ सङ्गठनले उद्योगीलाई दुःख दिने गरेको समेत बताउनुभयो । ‘कर्मचारीले पनि उद्योगीलाई दुःख दिने गरेका छन् । यो गलत हो,’ उहाँले भन्नुभयो । उहाँले सरकार र उद्योगीबिच समन्वय हुन जरुरी रहेकोसमेत बताउनुभयो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घले बुधबार बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई बोलाएर उद्योगी र व्यवसायीहरूका समस्या पनि राख्नुका साथै स्वागत सम्मान गरेको हो । कार्यक्रममा मुख्यमन्त्री लामा, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्का, स्वास्थ्य मन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक मायाँ तामाङ, विना विभागीय मन्त्री मदु कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवालको अध्यक्षतामा भएको हो ।







प्रतिक्रिया राख्नुहोस्