तपाईँ सुन्दै हुनुहुन्छः

महिलालाई उद्यमी बनाएको मिलनसार 

पाल्पा । तानसेन नगरपालिका—१३, बौघागुम्हा,केरवादीकी तुलसा भण्डारीको खोरमा २२ वटा बाख्रा, गोठमा दुई वटा दुहुना भैँसी र बारीमा तरकारी खेती छ । भण्डारीको घरमा तीन जनाको परिवार छ,उहाँलाई आफ्नो परिवार पाल्न कुनै जागिर, पसल वा विदेश कतै जानु परेको छैन । उहाँ घरमा परिवारसँग बसेर नै विदेशमा कमाएर बचत हुने भन्दा बढी रकम बचत गर्नुहुन्छ । 

बिक्रम सम्बत २०६८ सालमा गाँउमा मिलनसार सामाजिक उद्यमी महिला सहकारी खुलेदेखि नै उहाँ त्यस सहकारीको सदस्य बन्नुभयो । सहकारी खुलेसँगै उहाँ निर्वाहमुखी कृषि प्रणालीबाट ब्यबसायीक कृषि कर्ममा लाग्नुभयो । भण्डारी सहकारीमा आवद्ध हुनुभन्दा पहिले निर्वाहमुखी कृषिकर्म गदै आउनुभएको थियो । त्यस समयमा उहाँलाई उत्पादित कृषि उपजले घरखर्च चलाउन समेत मुस्किल थियो । अहिले उहाँले सबै खर्च कटाएर वार्षिक ५ देखी ६ लाख सम्म आम्दानी हुने बताउनुहुन्छ । उहाँले भैँसी पालन, तरकारी खेती गरेपनि मुख्य रुपमा आधुनिक खोर निमार्ण गरि बिउ बाख्रा उत्पादन सँगै बिक्री गर्दै आउनुभएको छ । उहाँको खोरमा खास गरि जमुनापारि तथा खपारी जातका बाख्राहरू रहेका छन् । 

त्यस्तै तानसेन नगरपालिका—१३, बौघागुम्हाकी शोभा थापालाई सहकारीमा आबद्ध हुनु पहिले सानो सानो कामका लागी पनि श्रीमान् सँग हात थाप्नुपर्ने अवस्था थियो । अहिले उहाँ आफै उद्यमी बनेर आत्मनिर्भर बन्नु भएको छ । थापाले पहिला स्थानीय जातका बाख्रा पालेपनि हाल जमुनापारि तथा खपारी जातका बाख्रा उहाँको खेरमा रहेका छन् । उहाँले पनि वार्षिक ३ देखि ४ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उत्पादित कृषिजन्य बस्तु बजारीकरण तथा प्राविधिक सहयोग पनि मिलनसार सामाजिक उद्यमी महिला कृषि सहकारीले गरिदिएको छ । जसले तानसेन १२ र १३ नम्बर वार्डका धेरै महिला किसानहरूलाई उद्यमी बनाएको छ । 

यस क्षेत्रमै नमुना काम गरेका छौँ: अध्यक्ष भण्डारी

मिलनसार सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको स्थापना २०६८ सालमा भएको हो । महिलालाई उद्यमी बनाउने उद्देश्य राखेर सुरुमा भएको यस सहकारीमा सुरुमा ८१ जना सदस्य रहेकोमा हाल तानसेन नगरपालिकाका वार्ड नम्बर १२ र १३ का गरि ६ सय २९ जना सदस्य रहेका छन् । 

सहकारीका अध्यक्ष कमला भण्डारीले मिलनसार सहकारीले यस क्षेत्रमै नमुना काम गरेको बताउनुहुन्छ । 

“सुरुसुरुमा महिलाले मात्र संस्था चलाउन गाह्रो हुन्छकी भन्ने लागेको थियो । तर, हेफर र रेडक्रसले संस्था दर्ता गर्न सहयोग गरेपछि  नेतृत्व बिकास तथा सीप बिकास सम्बन्धि तालिमले नै हामीलाई अगाडी बढ्न निकै ठूलो सहयोग गर्‍यो  ।” अध्यक्ष भण्डारीले भन्नुभयो । 

उहाँका अनुसार सहकारीहरूले कृषिका धेरै क्षेत्रमा गर्ने गरेको भएपनि आफूहरूले बिउ बाख्राको पाठापाठी उत्पादन गरेको छ । साथै सहकारीले तानसेन नगरपालिका, लुम्बिनी प्रदेश भूमि व्यवस्था तथा सहरीबिकास मन्त्रालय, कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा, हेफर इन्टरनेशलन, रेडा पाल्पा र मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाको स्वयम् लगानीमा तानसेनको होलाङ्गदीमा कुल २ करोड बढीको लागतमा पाल्पाको एकमात्र मिलनसार कृषि उपज थोक बजार केन्द्रको स्थापना भएको छ । जसको उद्घाटन २०८० साल पुस महिनामा भएको हो । 

मिलनसार कृषि उपज थोक बजार केन्द्रमा अहिले पाल्पाका ५ वटा पालिकाबाट किसानहरुले उत्पादन गरेको तरकारी आउने गरेको छ । उपज केन्द्रमा तरकारीको ग्रेडिङ, लेबलिङ्ग, वासिङ्ग, प्याकेजिङ्ग तथा विषादी नष्ट गर्ने लगायतका काम हुने गरेको छ । 

उपज केन्द्रमा किसानबाट आएको तरकारीलाई बिषदी नष्ट गर्ने मेसिन समेत रहेकाले तरकारीमा रहेको ८० प्रतिशतसम्म बिषदी नष्ट हुने गर्दछ  । मिलनसार कृषि उपज थोक बजार केन्द्रबाट बजारमा गएको तरकारी उपभोक्ताहरूले सेवन गर्दा स्वास्थ्य समेत राम्रो हुने र मूल्य पनि बजारमा भन्दा सस्तो रहेको सहकारीकी अध्यक्ष भण्डारीले बताउनुभयो । 

सहकारीले विशेष गरि कृषिको क्षेत्रमा काम गर्ने भएपनि बिउ बाख्रा उत्पादन नै प्रमुख रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । सहकारीले बाख्राको बिउ उत्पादन २०७० सालबाट सुरु गरेको हो । बाख्रा जन्मेको दिनमा नै तौल लिने गरिन्छ । त्यसपछि पाँच महिनासम्म महिनाको एक पटक तौल लिने गरिन्छ । ५ महिनामा पाठी १८ केजी र पाठो २४ केजीको हुनु पर्ने हुन्छ । यदि त्यसो नभए त्यसलाई बिउको लागि नभई मासुको लागि छुट्टाउने गरिएको छ । त्यसरी छानिएका पाठापाठी मध्ये पनि पाठा २० प्रतिशत र पाठी ५० प्रतिशत मात्र बिउको लागि योग्य हुने गरेका छन् । यसरी उत्पादन भएका बिउ पाठापाठीहरु पाल्पा,बुटवल,पोखरा,चितवन धादिङ गरि ३५ जिल्लासम्म पठाउने गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार बिउ पाठीको ४१० र बोकाको ५५० रुपैयाँका दरले किसानले जिउँदो बाख्राको मूल्य पाउने गरेका छन् । सहकारीका तानसेनका ८ स्थानमा सङ्कलन केन्द्र छन् । भने, ३ हजार भन्दाबढी बाख्रा हाल सहकारीमा आबद्ध किसानहरूसँग रहेका छन् । सहकारीले तरकारी, दूध, दाना, मल, तथा अदुवाको समेत कारोबार गर्ने गरेको छ । साथै पशु बिमा र ऋण बचतको समेत काम गर्दछ ।   

सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै कोभिडको समयमा १ महिना निःशुल्क कृषि एम्बुलेन्स, विदेशमा बेचिएका चेलीको उद्धार, तानसेन नगरपालिकाको कोभिड कोषमा ४० लाख जम्मा, दलित जेहेन्दार बालबालिकालाई छात्र वृद्धि, महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम समेत गरेको जनाएको छ । 

नगरपालिकाले कृषक दिदी बहिनीहरूलाई पूर्ण सहयोग गर्छ: नागिला 

नगरपालिकाले कृषि क्षेत्रमा लाग्न चाहने कृषक दिदी बहिनीहरूलाई पूर्ण सहयोग गर्ने जनाएको छ । आगामी दिनमा नगरपालिकाले कृषक समूहलाई प्रबद्र्धन गर्ने बजार केन्द्रहरूलाई थप व्यवस्थापन गर्ने वार्षिक नीति तथा कार्यक्रम रहेकाले पालिकाले पूर्ण सहयोग गर्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । 

मिलनसार सामाजिक उद्यमी महिला कृषि सहकारीसँग अझ बढी सहकार्य गरेर कृषि उपज तथा थोक बजार केन्द्रलाई थप व्यवस्थित बनाउन एउटा कार्यविधि बनाएर नगर भित्रका अन्य सहकारीसँग समेत समन्वय गरि अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताउनुभयो । 

तरकारीको विषादी परीक्षण गर्ने मेसिन ल्याउछौंः रेडा बजार बिकास अधिकृत नृप परियार 

रेडा पाल्पाले मिलनसार कृषि उपज तथा थोक बजार केन्द्रलाई धुने पखाल्ने, क्यारेट,कार्यालय व्यवस्थापन, वाटर सेनेटेजाईसेसन लगायतका सामाग्री सहयोग गरेको छ । अब केही समयमै पाल्पामा पहिलो पल्ट तरकारी विषादी मापन गर्ने प्रविधि ल्याउने तयारी रहेको रेडा बजार बिकास अधिकृत नृप परियारले बताउनुभयो । दैनिक डेढ टन तरकारी बजार केन्द्रमा आउने गरेको अधिकृत परियारले बताउनुभयो । उहाँका अनुसार विष रहित तरकारी बिक्रीका लागी तानसेनमा तीन वटा स्थान राख्ने र त्यहाँबाट प्रशोधित तरकारी बेच्ने योजना रहेको छ । जिल्लामा उत्पादित तरकारी रुपन्देही जाने र पुनः पाल्पा आउने परिपाटि अन्त्य गर्न यसले सहयोग पुग्ने उहाँको विश्वास रहेको छ । हेफर इन्टरनेसनल नेपाल र रेडा पाल्पाले कृषि उपज तथा थोक बजार केन्द्रलाई ८५ लाख सहयोग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button