तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ: मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताउनुभयो । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्नुहुँदै उहाँले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उँचो बनाइने बताउनुभयो ।
गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आज आयोजना गरेको स्वागत तथा अन्तक्र्रियामा उहाँले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा कर्मचारी भर्ना प्रक्रियासमेत अगाडि बढाइने बताउनुभयो ।  “सङ्घीय सरकारले हस्तान्तरण गरेको स्वीकृत दरबन्दीअनुसार प्रदेश सरकार मातहत रहेका कार्यालयमा चार हजार ७८ जना कर्मचारीको दरबन्दी रहेकामा हाल दुई हजार एक सय ७८ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । रिक्त रहेका एक हजार नौ सय कर्मचारीको पदमा अब छिट्टै लोकसेवा आयोगमार्फत विज्ञापन खोलिने छ । त्यसपछि सेवा प्रवाहमा थप सहज हुनेछ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो ।  उहाँले अर्घाखाँची र गृह नगरको विकासका लागि सङ्घीय सरकारसँग समन्वय गरेर पर्याप्त बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका सबै कार्यालय र प्रदेश सरकारबाट प्राप्त भएका तर नगरपालिकाले कार्यान्वयन गर्ने बजेटका योजना प्रतिस्पर्धाबाट गर्न पत्राचार गरिएको बताउनुभयो । “नाम उपभोक्ता समितिको देखाउने तर काम निर्माण व्यवसायीलाई गराउने प्रवृत्ति छ । त्यसैले बीचमा हुने चलखेल रोक्न सबै काम प्रतिस्पर्धाबाट गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । सोहीअनुसार पत्राचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाखाँची जिल्लाकै गौरवको योजनाका रूपमा रहेको गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्याप्त बजेट नभएको, बजेट परेर पनि अर्घा भगवती विमानस्थलको काम हुन नसकेको,  सालझण्डी, सन्धिखर्क ढोरपाटन सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेकालगायत योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button