कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलको संसदीय सुनुवाई सम्पन्न

काठमाडौँ । संसदीय सुनुवाई समितिले आज कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलसँग संसदीय सुनुवाई गरेको छ ।
संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दे कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवद्र्धनमा आफूले जोड दिने बताउनुभयो ।
उहाँले राष्ट्रिय हितलाई ध्यान दिएर नेपाल–कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायरा भित्र रहेर द्विपक्षीय दौत्य सम्बन्धलाई थप विस्तार, सुदृढ र समय सापेक्ष विकास गर्न भूमिका खेल्ने बताउनुभयो ।
संसदीय सुनुवाइ समितिले आइतबार चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको थियो भने सोमबार इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको थियो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।
सरकारले भारतका लागि डा. शङ्कर शर्मा, चिनका लागि प्राध्यापक डाक्टर कृष्णप्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोक दर्शन रेग्मी, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डाक्टर शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का र रीता धिताललाई पाकिस्तानको लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
यसैगरी, सरकारले नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डाक्टर शैल रुपाखेती जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमिल्सिना मलेसिया र प्रकाशमणि पोखरेललाई पोर्चुगलका लागि सिफारिस गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्