माओवादीलाई पुनर्जागृत गर्ने अभियान थालेका छौँ : अध्यक्ष प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई पुनर्जागृत गर्ने अभियान थालेको बताउनुभएको छ । नेपालगन्जमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउने उद्घोष गर्नुभयो ।
२०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको इतिहास साक्षी छ, पार्टीभित्र देखिएका विभिन्न विकृति र निरन्तर जनतामाझ जान नसकिएका कारण अहिले जनसमर्थन केही घटेको जस्तो देखिएको छ, तर त्यसलाई हामी अब पुनर्जागृत गर्छौं, उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सरकारको नेतृत्व गर्दा जनहितका पक्षमा काम गरेकाले माओवादीप्रति जनताको विश्वास कायमै रहेको जिकिर गर्नुभयो ।
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा विकासका क्षेत्रमा थुप्रै काम गरेको प्रचण्डको भनाई छ । जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै रहेको जिकिर गर्दै उहाँले माओवादी पार्टी मात्र नभएर एउटा सिङ्गो राजनीतिक र सामाजिक आन्दोलन भएको बताउनुभयो । प्रचण्डले कार्यकर्तालाई सङ्गठन निर्माण र विस्तारमा जुट्न आह्वान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्